अर्घाखाँचीमा सवारी साधन दर्ता किताब नवीकरण सेवाको शुभारम्भ

अर्घाखाँचीमा सवारी साधन दर्ता किताब नवीकरण सेवाको शुभारम्भअर्घाखाँची — घरेलु तथा साना उद्योग कार्यालय, अर्घाखाँचीको आयोजनामा सवारी साधन दर्ता किताब नवीकरण सम्बन्धी सेवा प्रवाहको भव्य रूपमा शुभारम्भ गरिएको छ। लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालयका सचिवको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रमको सुरुमा घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीकी प्रमुख अधिकृत दुर्गा न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्दै नयाँ सेवा प्रवाहको उद्देश्य, प्रक्रिया र यसबाट सेवाग्राहीलाई हुने सहजताबारे विस्तृत जानकारी गराउनुभएको थियो। तत्पश्चात् प्रमुख अतिथि लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री चेतनारायण आचार्य र माननीय सांसद हरिप्रसाद भुसालले अनलाइन प्रणालीमार्फत ‘क्लिक’ गरी पहिलो सेवाग्राहीलाई नवीकरण सेवा प्रदान गर्दै कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँची जिल्लामा भर्खरै सुरु भएको सवारी साधन सम्बन्धी यो सेवा पहिलो चरण भएको र आगामी दिनमा बाँकी रहेका अन्य सबै सेवाहरू पनि यहीँबाट उपलब्ध गराउने गरी कार्यालयको क्षमता विस्तार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।अनलाइन प्रणालीमार्फत सवारी साधन दर्ता किताब नवीकरणको पहिलो सेवा लिने सेवाग्राहीहरू सुभाष शाही, तेज बहादुर औजाली र हुम बहादुर खत्रीलाई कार्यक्रममा खादा, फूलमाला र अबिर लगाएर विशेष सम्मान गरिएको थियो। उक्त कार्यक्रममा प्रतिनिधिसभा सदस्य माननीय हरि प्रसाद भुसाल, लुम्बिनी प्रदेश आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्री माननीय भण्डारीलाल अहिर, जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइराला, विभिन्न पालिकाका प्रमुख तथा अध्यक्षहरू, प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ज्ञवाली, सुरक्षा निकायका प्रमुखहरू र यातायात तथा उद्योग व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभापति तथा आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालयका सचिवले कार्यालयको काम, कर्तव्य, दायित्व र आगामी दिनमा थप गर्न लागिएका सेवा प्रवाहका प्रयासहरूबारे स्पष्ट पार्दै कार्यक्रमको विधिवत् समापन गर्नुभएको थियो।यो नयाँ सेवा सुरु भएसँगै अर्घाखाँचीका नागरिक तथा सवारी व्यवसायीहरूलाई सेवा लिन अन्यत्र जानुपर्ने बाध्यता हट्ने र समय तथा खर्चको बचत हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *